काठमाडौं । अमेरिका र इजरायललाई विश्वका सबैभन्दा नजिकका साझेदारमध्ये एक मानिन्छ। तर पछिल्ला दिनमा इरानको विषयलाई लिएर दुई देशबीच मतभेद बढिरहेका बेला अर्को संवेदनशील विषय सार्वजनिक भएको छ। अमेरिकी सञ्चारमाध्यमहरूको दाबीअनुसार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इजरायलसँग सम्बन्धित जासुसी जोखिमलाई उच्च स्तरमा राखेको छ। केही अमेरिकी अधिकारीहरूले इजरायलले अमेरिकी अधिकारीहरू र ट्रम्प प्रशासनसँग सम्बन्धित आन्तरिक जानकारी संकलन गर्न खोजेको आशंका व्यक्त गरेका छन्।

तर इजरायलले भने यस्तो आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इजरायली पक्षले आफूहरूले अमेरिकामाथि जासुसी नगर्ने र आफ्ना गुप्तचर निकायहरू शत्रु राष्ट्रहरूमा केन्द्रित रहने बताएको छ। रिपोर्टअनुसार इजरायल भ्रमणमा जाने अमेरिकी अधिकारीहरूले विशेष सावधानी अपनाउने गरेका छन्। उनीहरू सामान्य मोबाइल र ल्यापटप प्रयोग नगरी विशेष सुरक्षा उपकरण तथा अस्थायी फोन प्रयोग गर्ने गर्छन्।

यो विवाद त्यसबेला बाहिर आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच इरान र मध्यपूर्व रणनीतिलाई लिएर मतभेद बढेको चर्चा भइरहेको छ। लेबनान र इरानसम्बन्धी नीतिमा पनि दुवै पक्षको धारणा फरक देखिएको छ। यद्यपि अमेरिका र इजरायलबीच जासुसी सम्बन्धी विवाद नयाँ भने होइन। सन् १९८५ को जोनाथन पोलार्ड प्रकरणदेखि २०१९ को स्टिङ्ग्रे निगरानी विवादसम्म विभिन्न घटनाले दुई देशबीचको गुप्तचर सम्बन्धमा बेला–बेलामा प्रश्न उठाउँदै आएका छन्।

राजनीतिक र सैन्य साझेदारी बलियो भए पनि पछिल्लो घटनाले अमेरिका–इजरायल सम्बन्धमा गुप्तचर तहको अविश्वास अझै समाप्त नभएको विश्लेषकहरूले बताएका छन् ।