काठमाडौं । मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर हुँदै जेल सजाय पाएका छन्। विशेष अदालतले घुस र कमिशन लिएको आरोप पुष्टि भएपछि सिंहलाई ४ वर्ष १ महिना कैद र ३८ लाख रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले सिंहले विभिन्न उपभोक्ता समितिबाट आर्थिक लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचारबाट आर्जन गरिएको रकम बराबरको जरिवाना र जफतको आदेश दिएको छ।

निर्वाचित जनप्रतिनिधि रहेकै अवस्थामा भ्रष्टाचार गरेको ठहर भएपछि कानुनी व्यवस्थाअनुसार थप सजायसमेत जोडिएको अदालतले जनाएको छ।फैसलाअनुसार सिंहले जरिवानासँगै पीडित राहत कोषका लागि अतिरिक्त रकम पनि बुझाउनुपर्नेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले आरोप पुष्टि गरेसँगै एक बहालवाला प्रदेश सांसद भ्रष्टाचारमा सजाय पाउने सूचीमा थपिएका छन्।