काठमाडौं । अफ्रिकाका कङ्गो र युगाण्डामा इबोला भाइरसको संक्रमण देखिएसँगै नेपाल सरकारले सीमा नाका, विमानस्थल र अन्य प्रवेशबिन्दुमा निगरानी बढाएको छ। तर स्वास्थ्य अधिकारीहरूका अनुसार हाल नेपालमा इबोला संक्रमण पुष्टि भएको छैन र तत्काल जोखिमको अवस्था पनि छैन।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका कामलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखेर स्वास्थ्य निगरानी, परीक्षण क्षमता र उपचार व्यवस्थापनको समीक्षा भइरहेको छ।
इबोला अत्यन्त घातक मानिने भाइरल रोग भए पनि यसको संक्रमण मुख्यतः संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थ वा प्रत्यक्ष सम्पर्कबाट फैलिने भएकाले सामान्य यात्रुहरूमा तत्काल त्रास फैलाउनुपर्ने अवस्था नरहेको विज्ञहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रमुख सीमा नाकाहरूमा स्वास्थ्यकर्मी परिचालन गरी यात्रुको स्वास्थ्य अवस्था निगरानी गर्ने, शंकास्पद लक्षण देखिए परीक्षण गर्ने तथा आवश्यक परे आइसोलेसनको व्यवस्था गर्ने तयारी गरेको छ।
नेपालमा इबोलाको जोखिम न्यून रहे पनि विश्वव्यापी यात्रु आवागमनका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित मान्न सकिँदैन। त्यसैले संक्रमण नियन्त्रणभन्दा पनि ‘पूर्वतयारी र सतर्कता’ अहिलेको मुख्य प्राथमिकता बनेको छ। सरकारले सर्वसाधारणलाई अफवाहमा नलाग्न, आधिकारिक सूचनामात्र विश्वास गर्न तथा विदेशबाट फर्किएपछि ज्वरो, कमजोरी, बान्ता वा रक्तश्रावजस्ता असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।






































