म्यानमार। म्यानमारको चीन सीमासँग जोडिएको उत्तरपूर्वी क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। आइतबार नामखाम टाउनसिपको कौंगटुप गाउँमा खानी उत्खननमा प्रयोग हुने विस्फोटक पदार्थ राखिएको भवनमा अचानक विस्फोट भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।


विस्फोट यति शक्तिशाली थियो कि आसपासका १०० भन्दा बढी घरमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरूले बताएका छन्। घटनास्थलबाट हालसम्म दर्जनौं शव निकालिएको छ भने मृतकमध्ये बालबालिकासमेत रहेका छन्। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। उद्धार तथा राहत कार्य जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। घटना भएको क्षेत्र हाल ताआङ नेशनल लिबरेशन आर्मीको नियन्त्रणमा छ। उक्त समूहले खानी तथा ढुंगा उत्खननमा प्रयोग हुने ‘जेलिग्नाइट’ नामक विस्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा दुर्घटना भएको जनाएको छ।

विस्फोटक पदार्थ सुरक्षित रूपमा भण्डारण नगरिए ठूलो दुर्घटना हुन सक्ने विशेषज्ञहरूले  बताएका छन्। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको अन्तर्राष्ट्रीय  संचारमाध्यमहरुले जनाएका छन् ।