काठमाडौं। राम्रो रोजगारी र आकर्षक आम्दानीको सपना देखाएर सयौँ नेपालीलाई भारत पुर्‍याउने गिरोहको कर्तुत सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ।


नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्लको नेतृत्वमा गएको टोलीले भारतीय प्रहरीसँग समन्वय गरी पीडितहरूको उद्धार गरेको हो। शारीरिक र मानसिक यातना भोगिरहेका उनीहरूलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ।


प्रहरीका अनुसार गिरोहले रोजगारीको प्रलोभनमा नेपालीहरूलाई भारत पुर्‍याउने, तालिमको नाममा नियन्त्रणमा राख्ने र त्यसपछि परिवारसँग २ देखि ३ लाख रुपैयाँ माग्न दबाब दिने गरेको थियो। पैसा तिरेपछि पनि छुटकारा नपाई थप १० जना नेपाली ल्याउनुपर्ने सर्त राख्ने गरिएको खुलेको छ।


प्रहरीका अनुसार यो नेटवर्किङ शैलीको ठगी धन्दामा फसाइएका पीडितहरूलाई मानसिक दबाब, निगरानी र आर्थिक शोषणको सिकार बनाइएको थियो। धेरैले आफन्त र चिनजानका व्यक्तिलाई समेत त्यही जालोमा तान्न बाध्य भएको बताएका छन्।


उद्धार गरिएका ४५३ जनामध्ये आधाभन्दा बढी महिला रहेका छन्। घटनामा संलग्न रहेको आशंकामा १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।


प्रहरीले यसलाई संगठित ठगी, मानव शोषण र आर्थिक अपराधको गम्भीर घटना भन्दै यसको जालो कहाँसम्म फैलिएको छ भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।