काठमाडौं। विश्वभर सुर्तीजन्य पदार्थले लाखौं मानिसको ज्यान लिइरहेको छ। अझ चिन्ताको विषय, करोडौं बालबालिका र किशोरहरू निकोटिनको लतमा फस्दै गएका छन्। विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले गम्भीर चेतावनी दिएको छ।



डब्ल्यूएचओका अनुसार विश्वभर १ अर्ब ३० करोडभन्दा बढी मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा छन्। हरेक वर्ष यसको कारण ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। मृत्यु हुनेहरु निम्न आय भएका मुलुकका नागरिकहरु रहेका छन् । 


अझ डरलाग्दो तथ्य के छ भने १३ देखि १५ वर्ष उमेरका करिब ४ करोड बालबालिका पनि सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन्। स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र आकर्षक विज्ञापनमार्फत कम्पनीहरूले युवापुस्तालाई लक्षित गरिरहेको आरोप डब्ल्यूएचओको छ।


सामाजिक सञ्जालका प्रभावकारी व्यक्तिहरू प्रयोग गरेर निकोटिनजन्य उत्पादनको प्रचार बढाइँदा नयाँ पुस्ता झन् जोखिममा परेको छ। विश्वका धेरै देशमा अझै यस्ता उत्पादनमाथि कडा कानुनी नियन्त्रणसमेत छैन।


डब्ल्यूएचओले स्वादयुक्त निकोटिन उत्पादन प्रतिबन्ध गर्न, विज्ञापन रोक्न र युवालाई निकोटिनको लतबाट जोगाउन तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। अहिले नियन्त्रण नगरे भावी पुस्ताको स्वास्थ्य गम्भीर संकटमा पर्ने चेतावनी डब्ल्यूएचओले दिएको छ।