इलाम। इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तररााष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाडाँै र एन पेनाङ मलेसिया आमनेसामने हुँदैछन् । 

फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ । 

यसअघि झापा गोल्डकपमा यी दुई टोलीबीच भेट हुँदा एन पेनाङलाई मच्छिन्द्रले २–१ गोलले हराएको थियो । पहिलो भेटमै मच्छिन्द्रसँग पराजित एन पेनाङ इलामको भेटमा बदला लिने दाउमा छ ।

यसअघि मच्छिन्द्रले इलामको सातौँ माई भ्याली गोल्डकपको उपाधि उचालेको थियो । दुवै बलिया टोलीबीच आज हुने खेल निकै प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । 

०५ वैशाखबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेड हर्ष फुटबल क्लबलाई स्तब्ध पार्दै पथरी ११ मोरङले विजयी सुरुआत गरेको थियो । रोलिङ क्लब र पथरी ११ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वैशाख १२ गते समापन हुने प्रतियोगिताको विजेताले रु १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालको चर्चित टोलीहरूमा मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चितलाङ फुटबल क्लब, फिदिम स्पोर्टिङ पाँचथर, रोलिङ क्लब झापा र आयोजक रेड हर्ष क्लब सहभागी छन् । 

यस्तै, मलेसियाको एन पेनाङ एफसी र भारतको जर्जियन फुटबल क्लब कालेम्पुङले यस संस्करणमा सहभागी भएका छन् ।