राँझा। बाँकेको खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनी रङ्गशालामा सञ्चालन भइरहेको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगितामा जेबीएम फुटबल एकेडेमी, लखनउ फाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जेबीएम फुटबल एकेडेमी, लखनउ (भारत)ले गोर्खा ब्वाइज क्लब, बुटवल (रुपन्देही)लाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको १२औँ मिनेटमा निखिल तामाङले उत्कृष्ट गोल गर्दै जेबीएमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ४२औँ मिनेटमा सुरज भण्डारी र ६०औँ मिनेटमा कमल जिसीमार्फत दुई थप गोल गर्दै जेबीएमले जित निश्चित गरेको थियो । खेलको ७०औँ मिनेटमा गोर्खा ब्वाइजका सुरज थारुले एक गोल फर्काएका थिए ।
न्यू डाँफे स्पोट्र्स क्लब, खजुरा बाँकेको आयोजनामा भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक एमटी एरिना स्पोट्र्स वेयर रहेको छ । प्रतियोगिताको विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्, जसमा विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्य रहेको आयोेजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रतियोगिता अन्तर्गत शनिवार हुने दोस्रो सेमिफाइनल खेलमा जस्ट जोन एफसी, नाइजेरिया र फोर ब्रदर्स एफसी, सरावल (नवलपरासी)बीच प्रतिस्पर्धा हुनेछ ।



































