युएई। दुबईको वित्तीय क्षेत्र नजिकै एउटा ड्रोन खसेको छ । दुबईको अल बदाआ क्षेत्रमा बिहीबार ड्रोन खसेको हो ।
उक्त ड्रोन शेख जायद रोडमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको अधिकारीहरूलाई उद्धृत गर्दै ‘मकाउ बिजनेस डटकम’ ले जनाएको छ । शेख जायद रोड दुबईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र नजिक पर्ने मुख्य सडक हो ।
अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्रहरूमा इरानले आक्रमण गर्ने धम्की दिएपछि उक्त क्षेत्रमा ड्रोन खसेको बताइएको छ ।
बुधबार अमेरिकी बैंकिङ कम्पनीसँगै परामर्श कम्पनीलगायत अन्य केही कम्पनीहरूले आफ्ना कार्यालयहरू बन्द गर्न र कर्मचारीहरूलाई बाहिर जान भनेका थिए ।
दुबई मध्यपूर्वको एक प्रमुख वित्तीय केन्द्र हो । २८ फेब्रुअरीमा युद्ध सुरु भएपछि दुबईले आफ्ना खाडी छिमेकी मुलुकहरू जस्तै इरानी आक्रमणबाट ठूलो असर भोगिरहेको छ ।
मध्यपूर्व युद्ध सुरु भएदेखि खाडी क्षेत्रले इरानका आक्रमणको ठूलो असर भोगिरहेको छ । जसबाट हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये सात जना अमेरिकी सैनिक र ११ जना सर्वसाधारण नागरिक रहेका छन् ।






































