धनगढी – भारत र श्रीलंकामा जारी आइसिसी टि–ट्वान्टी विश्वकपमा नेपाली टोलीबाट खेलेका क्रिकेट खेलाडी लोकेश बम र ब्रान्ड एम्बेस्डर शेर मल्ललाई धनगढीको एसपिए कलेजले सम्मान गरेको छ।
कलेजको २७ औँ वार्षिकोत्सवको अवसरमा दुबै खेलाडीलाई जनही १ लाख १ हजार नगद र दोसल्लासहित ‘एसपिए सम्मान’ प्रदान गरिएको हो। लोकेशले इङ्ल्यान्डविरुद्ध २० बलमा ३९ रन बनाएका थिए भने शेरले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बलमा फिल सल्टको विकेट लिएका थिए।
सम्मानपत्रमा दुबै खेलाडीको समर्पण, अनुशासन र मेहनतले राष्ट्रिय गौरव बढाएको उल्लेख गरिएको छ। जय ट्रफी खेलिरहेको लोकेशको सम्मान आमा शान्तादेवी बमले ग्रहण गरिन्। शेरले विद्यार्थीहरुलाई मेहनत र समर्पण नछोड्न प्रेरणा दिएका छन्।
एसपिए कलेजमा दुई दर्जनभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अध्ययनरत छन्। कलेजले यसअघि पाककलाका माहिर सेफ सन्तोष साह र खल्ती मोबाइल वालेटका संस्थापक अमित अग्रवाललाई पनि सम्मान गरिसकेको छ।






































