काठमाडौं – पाकिस्तानले अफगानिस्तानविरुद्ध खुला युद्धको घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका हुन् ।
पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै ‘हाम्रो धैर्यता समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ’ भनेको बीबीसीले जनाएको छ । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तालिवानले ‘अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरू एकत्रित गरेको आरोप लगाएका छन् ।
गए राति भएको दुई पक्षको भिडन्तमा दुवै पक्षका गरी झण्डै डेढ सयको ज्यान गएपछि पाकिस्तानको कठोर निर्णय गरेको हो । काबुलमा अन्तरिम सरकारले आतंकवाद निर्यात गरेको पाकिस्तानी रक्षामन्त्री आसिफले बताएका छन् ।
अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी गरेको पुष्टि गरेका छन् । उनले आक्रमणबाट कुनै हताहती भने नभएको दावी गरेका छन् ।
पाकिस्तानी रक्षामन्त्री आसिफले अफगान तालिवानले आफ्नो मुलुकका नागरिकलाई मानवाधिकारबाट वञ्चित गरेको र इस्लामले महिलालाई दिएको अधिकार खोसेको पनि आरोप लगाएका छन् ।
बीबीसी उर्दुका अनुसार पाकिस्तानी सरकारले अहिलेसम्म सैन्य अभियानका क्रममा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सय घाइते भएका दाबी गरेको छ ।
दक्षिण एशियाका दुई मुलुक युद्धमा होमिदा त्यसको असर नेपाल र नेपालमा हुन लागेको आम चुनावमा समेत पर्नसक्ने अडकल गरिएको छ ।






































