काठमाडौं— दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार भारतको उदयपुरमा विवाह गरेका हुन् ।

राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ । विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ ।

उनीहरूको विवाहका अधिकारिक तस्बिरहरु भने सार्वजनिक भइसकेको छैन । रश्मिका र विजयले आफ्नो वैवाहिक समारोहलाई ‘विरोश’ नाम दिएका छन्, जुन उनीहरूका नामको संयोजनबाट बनेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई कलाकारको विवाहको चर्चा चलिरहेका बेला उनीहरूले केही दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका थिए ।

रश्मिका र विजयले सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ मा ‘डियर कमरेड’ मा संगै अभिनय गरेका थिए । ती फिल्ममा उनीहरूको अभिनय र केमेस्ट्रि दर्शकहरूले अन्त्यन्त रूचाएका थिए ।