कास्की। पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पाहुना टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
आभा क्लबले कठिन जित निकाल्ने क्रममा खेलको ५६ औँ मिनेटमा ‘खेलको प्लेयर अफ दी म्याच’ घोषित उमिदजोन करिलोभ गरेको गोल निर्णायक बन्यो । डिबक्सभन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले सिधै चाली चुमेको थियो । खेलमा प्लानिङले समेत गोलका केही सुन्दर मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार आयोजक टोली सहारा क्बल पोखरा र मनाङ मस्र्याङदी क्लबले फाइनल प्रवेशका लागि प्रतिपस्पर्धा गर्नेछन् । यसैगरी पाहुना टोली आभा एफसीले दोस्रो सेमिफाइनलमा बिहीबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
गत माघ २७ गतेदेखी सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।




































