भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित कन्काई पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।
राजमार्गअन्तर्गत पर्ने पुलको बीच भागमा अज्ञात समूहले शंकास्पद वस्तु राखेको अवस्थामा फेला परेको हो। वस्तु कागजले बेरिएको अवस्थामा रहेको र बाहिरपट्टि “नेपाल बन्द होशियार” भन्ने नारा लेखिएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।
शंकास्पद वस्तु देखिएपछि सुरक्षाका लागि प्रहरीले तत्काल उक्त क्षेत्र खाली गराएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुल आसपासको क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जसका कारण पूर्व र पश्चिमतर्फ गन्तव्यतर्फ हिँडेका सवारीसाधनहरू लामबद्ध भएका छन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
सुरक्षा निकायले घटनास्थललाई नियन्त्रणमा लिएर आवश्यक जाँच प्रक्रिया अघि बढाएको जनाएको छ। शंकास्पद वस्तुको प्रकृति र राख्ने समूहबारे अनुसन्धान सुरु गरिएको छ।





































