भोजपुर। भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ । करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको हो ।

करिब रु दुई करोडको लागतमा निर्माण गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुर्याउने सङ्घको लक्ष्य छ ।

महासचिव श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको बजेट राज्यबाट समयमै प्राप्त नहुँदा केही संरचनाको निर्माणकार्यमा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले यसको पूर्णता र दीर्घकालीन सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।

“राष्ट्रिय भलिबल सङ्घले यहाँ आवासीय भलिबलसहित अन्य खेलका प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो, “भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यसको दिगो विकासका लागि विशेष पहल गरेका छौँ । दावाँस्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई खेल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने हाम्रो प्रमुख उद्देश्य हो ।”

आवासीय प्रशिक्षण केन्द्र सञ्चालनका लागि राष्ट्रिय भलिबल सङ्घले एक जना योग्य प्रशिक्षकको व्यवस्था गर्ने जनाएको छ । यस केन्द्रमार्फत स्थानीय तथा प्रदेशस्तरका प्रतिभावान खेलाडीलाई व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ । खेल क्षेत्रको विकासका लागि आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि यहाँ कम्प्लेक्स निर्माण गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, नेपालक भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कम्प्लेक्सको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले भौतिक अवस्था, सम्भाव्यता तथा आवश्यक सुधारका विषयमा चासो व्यक्त गर्दै केन्द्र सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारको सक्रिय भूमिका र राज्यको निरन्तर सहयोगबिना यस्तो महत्त्वपूर्ण संरचना दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन हुने उहाँको धारणा छ ।

भलिबलका मुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का तालिम प्रशिक्षक एवं उपनिर्देशक जगदीशप्रसाद भट्टले संरचनालाई पूर्ण रूपमा सम्पन्न गर्न सके यहाँ भलिबलसहित अन्य ‘इन्डोर्स’ खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । पहाडी क्षेत्रमा निर्माण भएको यस्ता संरचनामा प्रशिक्षण लिएका खेलाडीले उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने उहाँको भनाइ छ ।

प्रशिक्षण केन्द्र सञ्चालनले जिल्लामा खेलकुद गतिविधि वृद्धि हुुनका साथै युवालाई अनुशासित र स्वस्थ जीवनतर्फ प्रेरित गर्दै तथा राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा भोजपुरको योगदान बढ्ने स्थानीयवासी उत्तम खड्काले बताउनुभयो । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको खेल संरचनालाई पुनः जीवन दिने कार्यले भोजपुरको खेलकुद विकासमा नयाँ आशा जगाएको उहाँको भनाइ छ ।