वीरगञ्ज। वीरगञ्ज महानगरमा सुन–चाँदीलगायतको गरगहना चोरीका घटना बढेका छन् । यही माघ १२ गते वीरगञ्ज महानगर–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोरलाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको हो ।

घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्तिले  सो मूल्य बराबरको सुनचाँदीको गरगहना चोरेर फरार भएको प्रहरीको भनाइ छ । 

यही माघ १३ गते त्यस्तै वीरगञ्ज महानगर–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट मूल्य यकिन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ । पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदी लगायतका गरगहना चोरी भएको देखाउँछ । 

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदी लगायतको गरगहनाको चोरीका घटना भएको बताउनुभयो । “केही दिनयता वीरगञ्ज महानगर आसपासमा दुई वटा चोरी भएको उजुरी आएको छ”, उहाँले भन्नुभयो,  “अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्य जारी राखेका छौं ।” 

पर्सा प्रहरीका प्रवक्ता बस्नेतले जुन घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताउनुभयो । “सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानको लागि सर्वसाधारण समक्ष अनुरोध गर्दछौंँ । त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ ।” प्रवक्ता बस्नेतले दुई चोरीका घटनाको विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताउनुभयो । 

पर्सा जिल्लामा चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म चोरीसम्बन्धी २६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौजना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेका १३ प्रतिवादी पूर्पक्षका लागि थुनामामा पठाइएको छ भने २४ जना प्रतिवादी धरौटी राखेर छुटेका छन् । हालसालै छ जना चोरीमा संलग्न अभियुक्तलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानको क्रममा रहेको पर्सा प्रहरीले जनाएको छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए । जसमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेर पक्राउ परेका अभियुक्तमध्ये १७ जना प्रतिवादी पूर्पक्षका लागि थुनामा पठाइएको थियो भने ३६ जना धरौटी राखेर छुटेका छन् । दुई जना साधारण तारेखमा छुटेका थिए ।