सर्लाही सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.१ नवलपुरमा माघ १६ गतेबाट प्रथम लालबन्दी मेयर गोल्ड कप प्रतियोगिता २०८२ सुरु हुने भएको छ।
नवलपुरस्थित नबलपुर फुटबल रंगशालामा आयोजना हुने प्रतियोगितामा मधेश प्रदेशका ८ र अन्य जिल्लाका ४ टिम गरि १२ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
बुधबार खेलकुद मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक जीवेश्वर युवा क्लबका अध्यक्ष दिपबहादुर बुढाथोकीले मधेश प्रदेशका ८ वटा र गाइघाट युवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौडाको सहभागिता रहने बताएका छन्।
प्रतियोगिताको विजेता टिमलाई नगद ३ लाख सहित ट्रफी र प्रमाण पत्र र उपविजेतालाई नगद १ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने बुढाथोकीले बताए।
जिल्लाबाट राम्रो खेलाडीको उत्पादन र राम्रो खेलाडीको पचिहानका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। २४ लाखभन्दा बढी लागत लाग्ने प्रतियोगिताका लागि लालबन्दी नगरपालिकाले ७ लाख र वडा नं.१ नवलपुरले ५ लाख सहयोग गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन्।






































