राँझा (बाँके)। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग कोटाभन्दा बढी धान खरिद गरेको छ । यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो ।

मोटा र मध्यम गरी २० क्विन्टल खरिदको कोटा पाएकामा १५ हजार २९४ दशमलव ५० क्विन्टल मोटा र चार हजार ९९९ दशमलव ७० क्विन्टल मध्यम गरी २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार मोटा धान रु पाँच करोड २९ लाख ७७ हजार २४२ र मध्यम धान रु एक करोड ८१ लाख ४० हजार ५६१ को धान खरिद गरिएको छ । मोटा धानको रु तीन हजार ४६३ दशमलव ८१ पैसा र मध्यम धानको रु तीन हजार ६२८ दशमलव ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको लामिछानेले बताउनुभयो ।

केन्द्रबाट सीमित बजेट छुट्याइएको र सोहीअनुसार धान खरिदको कोटा प्राप्त भएकाले सोहीअनुसारको खरिद गरिएको बताउँदै उहाँले योसँगै यस वर्षलाई धान खरिद कार्य बन्द गरिएको उल्लेख गर्नुभयो । गत वर्ष कार्यालयले ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।