प्रकाश सुवेदी-

अमेरिकाको भर्जिनिया, मेरिल्यान्ड र वासिङ्टन डिसीलाई कर्मथलो र बासस्थान बनाउँदै आएका सेवानिवृत्त नेपाली–अमेरिकन सैनिकहरूको सङ्गठित संस्था ‘नेपाली मिलिटरी भेटेरन्स क्लब (DMV)’ द्वारा आयोजित तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगिता नोभेम्बर ८ र ९ मा अमेरिकाको भर्जिनियास्थित मनाससमा अत्यन्तै उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा टेक्सास, न्युयोर्क, ओहायो, पेन्सिलभेनिया, मेरिल्यान्ड र भर्जिनियासहित ६ विभिन्न राज्यका खेलाडीहरूले आ–आफ्ना समूह बनाएर सक्रिय सहभागीता जनाएका थिए।

खुला समूहमा १४ टिमबीच भएको प्रतिस्पर्धाले मैदानमा रोमाञ्चक र प्रत्याशित भिडन्तहरू प्रस्तुत गर्‍यो। फाइनल खेल बाल्टिमोर एथलेटिक क्लब (BAC) र झापा–XI बीच रोचक र घम्साघम्सी ढङ्गले अघि बढ्यो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टीमार्फत BAC ले ८–७ को झिनो जित हात पार्दै १० हजार डलर, आकर्षक ट्रफी तथा मेडलसहित उपाधि सुरक्षित गर्‍यो। झापा–XI (टेक्सास) ले मनछुँदे खेल प्रस्तुत गर्दै उपविजेताको रूपमा ५ हजार अमेरिकन डलर, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो।

यस्तै, उमेर समूह ३५+ को फाइनलमा पेन्सिलभेनियाका ह्यारिसबर्ग भेटेरन्स एफसीले भर्जिनियाको नोभा रोयल्स एथलेटिक क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै ५ हजार डलर, ट्रफी र मेडल हात पारेको छ। उत्कृष्ट प्रदर्शन गरे पनि नोभा रोयल्स उपविजेतामा सीमित रहँदै २ हजार डलर, ट्रफी तथा मेडलमा समेटियो। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, उत्कृष्ठ खेलाडी तथा सर्वोच्च गोलकर्तालाई प्रदान गरिएका विशेष सम्मानले पनि कार्यक्रमलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।

समापन समारोहमा आयोजकले प्रतियोगिता सफल बनाउन योगदान पु‍र्याउने सबै टोलीहरू, प्रायोजक, सहयोगी, सञ्चारकर्मी तथा दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गर्‍यो। क्लबका पदाधिकारी सन्दीप बास्तोलाका अनुसार, संस्थाको मुख्य उद्देश्य डिसी, बाल्टिमोर र मेरिल्यान्ड क्षेत्रमा रहेका पूर्वसैनिक तथा अमेरिकी सेनामा कार्यरत नेपाली युवाहरूलाई सङ्गठित गर्दै समुदायमा भै पर्न सक्ने समस्यामा सहकार्य पुर्‍याउने, खेलकुद र विविध सांस्कृतिक कार्यक्रममार्फत नेपाललाई विश्व सामु चिनाउने तथा अमेरिकाको सुरक्षा संयन्त्रमा हजारौँ नेपाली युवाले पु‍र्याएको योगदानलाई सम्मानका साथ प्रस्तुत गर्ने रहेको छ।