काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा घुसपैठ गरी आतंक सिर्जना गर्ने र आफूलाई जेनजी प्रतिनिधि भन्दै सरकारी कर्मचारीलगायतलाई थर्काउँदै हिँड्ने धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले दसैँ अगाडि नै एक सयभन्दा बढीलाई पक्राउ गरिसकेको थियो ।

तर गृहमन्त्री ओमप्रकाश अर्यालका कारण सबैजना थुनामुक्त भएका छन् । यद्यपि प्रहरीले अहिले आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याएको छ ।

यसैक्रममा जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी) का सदस्य तेन्जिङ दावा पक्राउ परेका छन् । उनले बबरमहलस्थित आर्कब्रिजमा पेस्तोल बोकेको टिकटक भिडियो बनाएका थिए ।

टिओबी समूहले जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका खेलेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

यस्तै, प्रहरीले जेनजी आन्दोलनका क्रममा एसएलआर (सेल्फ लोडिङ राइफल) लुट्ने ललितपुर महानगरपालिका– १३ कुसुन्ती घर भएका ३६ वर्षीय सम्राट भनिने राजु परियारलाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले मंगलबार ललितपुरबाट पक्राउ गरेको थियो । उनले जेन–जी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्ने एसएलआर प्रयोग गरी सिंहदरबारस्थित पश्चिम गेटमा पोजिसन लिँदै भिडियो खिचेका थिए । तर, उक्त हतियार उनले हालसम्म पनि फिर्ता गर्न सकेका छैनन् ।

उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी भट्टराईले जानकारी दिए । उनीविरुद्ध यसअघि विभिन्न अदालतमा आठ कसुरमा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार २९ माघ ०६४ मा ज्यान मार्ने उद्योग, १४ असोज ०७० मा ज्यान मार्ने उद्योग, १३ पुस ०७५ ठगीसम्बन्धी कसुर, १७ पुस ०७९ मा अर्को ठगीसम्बन्धी कसुर, १० भदौ ०६५ मा अभद्र व्यवहारको कसुर, १३ पुस ०७५ मा पनि अभद्र व्यवहारकै कसुर र १९ वैशाख ०७१ मा ठगीसम्बन्धी अर्को कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

यसैगरी, जेनजीको नाममा एक सातादेखि सरकारी कर्मचारीलाई कार्यालयमै पुगेर थर्काउँदै आएका अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका टोलीले उनलाई बुधबार साँझ कोटेश्वरबाट पक्राउ गरेको हो । शाहीको आपराधिक पृष्ठभूमि धेरै रहेकाले थप अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । ‘जेनजीको प्रतिनिधि भन्दै सरकारी कार्यालयमा थर्काउँदै आएका अर्जुनबहादुर शाहीलाई पक्राउ गरेका छौँ । यसको आपराधिक पृष्ठभूमि धेरै रहेको देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा जुन कसुर बलियो देखिन्छ, सोहीअनुसार मुद्दा दर्ता हुन्छ,’ उनले भने ।

शाही ०८२ वैशाख २८ मा वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेपछि पक्राउ परेका थिए । उनले त्यसवेला आठ लाख रुपैयाँ ठगी गरेका थिए । उनीविरुद्ध २३ वैशाख ०८३, २९ पुस ०८१, २३ पुस ०८१ र २७ वैशाख ०८१ मा क्रमशः १० लाख दुई लाख, सात लाख र १० लाख ३० हजार रुपैयाँको चेक बाउन्सको मुद्दा दर्ता भएको थियो ।