सिरहा, २३ असोज ः विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानद्वारा आज जिल्लामा कार्यरत सुरक्षा निकायका कर्मचारीहरूका लागि विशेष आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धन विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीकोे सहभागी रहेको थियो । स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब सयभन्दा बढी सुरक्षाकर्मीको आँखा परीक्षण तथा आवश्यक परे चस्मा वितरण गरिने अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सशस्त्र प्रहरी बल सिरहाका उपरीक्षक नरेश भण्डारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रजिअ अधिकारीले सगरमाथा चौधरी आँखा अस्पतालले ं स्वदेशी तथा विदेशी बिरामीको सफल उपचार गरी राष्ट्रको गौरव बढाएको बताउनुभयो । उहाँले अस्पतालले आगामी सय वर्षलाई लक्षित गर्दै दीर्घकालीन योजना बनाएर ‘मेडिकल टुरिजम’को हब बनाउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले अस्पतालद्वारा प्रदान गरिँदै आएको सेवा र विस्तार योजनाको बारेमा जानकारी गराउनुभएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालले यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।