काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख हुतराज थापा भदौ २८ गतेदेखि अनिवार्य अवकाशमा गइसकेका छन्। २०७९ भदौ २८ मा विभाग प्रमुख बनेका थापाले ३ वर्षे कार्यकाल पूरा गरी अवकाश लिएका हुन्।

थापाले २०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवामा प्रवेश गरेका थिए। आफ्नै ब्याचका ओमप्रकाश जोशीलाई पछि पार्दै उनले विभागको नेतृत्व सम्हालेका थिए। अहिले भने जोशी विभाग प्रमुखका दावेदार बनेका छन्। हाल उनी प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा छन्। थापाका अर्का ब्याचमेट अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि प्रतिस्पर्धामा छन्। कार्की अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन्।

तर, जेन–जी प्रदर्शनपछि भएको सत्ता परिवर्तनका कारण नयाँ गुप्तचर प्रमुखको नियुक्ति अझै टुंगो लागेको छैन। अन्तरिम सरकारको नेतृत्व लिइरहेकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने भए पनि हालसम्म स्पष्टता आएको छैन।

मुलुकभर संरचना रहेको राष्ट्रिय अनुसन्धान विभागको मुख्यालय सिंहदरबार परिसरमा छ। विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको छ।