काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्खु कारागारबाट देशबासीलाई सम्बोधन गर्दै तत्कालीन घटनाक्रमलाई ‘इतिहासकै कालो दिन’ को रूपमा व्याख्या गरेका छन् ।
लामिछानेले आफ्नो सन्देशमा १९ भन्दा बढी विद्यार्थीको रगत बगेको र सयौँ घाइते भएको दाबी गर्दै भनेका छन्, “ब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।”
उनले जेनजी पुस्तालाई सडकमा ल्याउन सरकारकै कुशासन, भ्रष्टाचार र क्रूरता बाध्यकारी भएको आरोप लगाए। ‘सिपालु सिकारीले चरा मारेझैँ स्कुले पोसाक लगाएका अबोध बालबालिकालाई गोली हानेर मारियो,’ उनले जारी गरेको सन्देशमा भनिएको छ ।
शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीमाथि भएको गोलीप्रयोगप्रति आक्रोश व्यक्त गर्दै उनले सरकारलाई ‘आततायी, क्रुर र भ्रष्ट’ भनेका छन्। लामिछानेले भने, 'स्कुले पोशाक लगाएका निर्दोष बालबालिकालाई सिपालु सिकारीले चरा मारेझैँ ताकि–ताकी गोली हानियो । यो देशको इतिहासकै सबैभन्दा कालो दिन हो ।'
नख्खु कारागारबाट सचिवालयसँगको टेलिफोन सम्पर्कमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि समाधान भन्दै ४ बुँदा सार्वजनिक गरेका छन् । ती माग पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्ने भन्दै तयार रहन भनेका छन् ।