काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हालै प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू तत्काल खोल्न नसकिने अडान लिएका छन्। यसअघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बैठकमा पार्टी निर्णय प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए। पौडेलले प्रस्ताव राख्दै भने, “जे क्षति भयो, त्यो क्षति अनुसार आजको मन्त्रिपरिषद् बैठक बस्दै गर्दा आन्दोलनकारीको मागबारे केही न केही सम्बोधन गर्नुपर्छ। त्यस क्रममा सामाजिक सञ्जाल दर्ता कुटनैतिक ढंगले पहल गर्दै तत्काल खोल्न सकिन्छ।”

तर प्रधानमन्त्री ओलीले यस प्रस्तावलाई अस्वीकार गर्दै भनेका छन्, “कम्पनीहरूले खुलेआम दर्ता गर्न तयार छैनन्। नियमन नगरी तत्काल खोल्न सकिँदैन।”

यसैबीच, गृहमन्त्री पदबाट राजीनामा दिने रमेश लेखकले पनि सामाजिक सञ्जाल खोल्न प्रस्ताव राखेका थिए, तर प्रधानमन्त्रीले अनुमोदन गरेका छैनन्। बैठकपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमै थप छलफल जारी रहेको छ।