काठमाण्डौ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठूलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ ।

प्रहरीले काठमाडौंको गोंगबुबाट चार करोड नगद र दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७५ वर्षीय विनोद कुमार श्रेष्ठ रहेका छन् ।

प्रहरीले अवैध सुन तथा हुन्डीको रकम रहेको सूचनाका आधारमा गोंगबुस्थित एक घरमा करिब तीन घण्टादेखि छापा मारिरहेको छ । प्रहरीले एक घरमा छापा मारेर नगद र सुनसहित उनलाई पक्राउ गरेको हो । श्रेष्ठले गहना धितो राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी टेकबहादुर तामाङका अनुसार श्रेष्ठले पैसा ब्याजमा लगाउने प्रयोजनकै लागि पैसा थुपारेर राखेको आशंका छ । सुनका गरगहनाहरू पनि बरामद भएको पाइएको छ । उक्त रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यद्यपि प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ ।

ठूलो मात्रामा अवैध रकम भण्डारण गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी पनि पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।