काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षाबारे साझा धारणा बनाउन बोलाइएको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरू सहभागी भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने अनुपस्थित रहे। दुवैले आफ्ना प्रतिनिधिमार्फत बैठकमा सहभागिता जनाएका हुन्।
एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र श्रम संस्कृति पार्टीका तर्फबाट प्रमुख सचेतक आरेन राई बैठकमा सहभागी भए। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरू उपस्थित थिए।
सुनसरी घटनापछि उत्पन्न तनाव, सामाजिक सद्भाव, शान्ति सुरक्षा र द्वेष फैलिन नदिन राजनीतिक तहबाट साझा सन्देश दिने उद्देश्यले बैठक आयोजना गरिएको हो। सहभागी दलहरूले संवाद, संयम र निष्पक्ष छानबिनमार्फत संकट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।






































