काठमाडौं । सुनसरी घटनापछि आयोजित सर्वदलीय बैठकमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। उनले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र कांग्रेसजनप्रति समवेदना व्यक्त गरेका हुन्।

मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएका श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालयमा राखिएको छ। कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् भने बुधबार नै अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

राष्ट्रिय राजनीतिक तनावका बीच पनि राजनीतिक दलहरूबीच मानवीय संवेदना र सम्मानको सन्देश दिने क्रममा रवि लामिछाने सानेपा पुगेका हुन्। हालै कांग्रेसले वरिष्ठ नेताको जिम्मेवारी दिएको केही दिनमै गोपालमान श्रेष्ठको निधन भएपछि विभिन्न दलका नेताहरू श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालय पुगिरहेका छन्।