काठमाडौं । सुनसरीमा उत्पन्न तनाव साम्य पार्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको नेतृत्वमा समाधानका लागि आवश्यक समन्वय र पहल जारी रहेको बताएका छन्। सर्वदलीय बैठकमा सरकारका तर्फबाट सहभागी भएका उनले अहिलेको मुख्य लक्ष्य सामाजिक सद्भाव कायम राख्दै सुरक्षा अवस्था सामान्य बनाउनु रहेको स्पष्ट पारे।
वाग्लेले सुनसरी घटनामा ज्यान गुमाएका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति, घाइतेको उपचार र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताए। सरकार सबै सरोकारवाला निकायसँग निरन्तर समन्वयमा रहेको र प्रभावित क्षेत्रमा शान्ति पुनःस्थापना गर्न आवश्यक कदम अघि बढाइएको उनको भनाइ थियो।
सर्वदलीय बैठकमा राजनीतिक दलहरूले उठाएका सुझावलाई पनि सरकारले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै वाग्लेले साझा प्रयासबाट मात्रै संकट समाधान सम्भव हुने धारणा राखे। बैठकमा उठेका सबै विषय प्रधानमन्त्रीसमक्ष पुर्याइने र राजनीतिक सहकार्य तथा संवादमार्फत सुनसरीको अवस्था सामान्य बनाउने दिशामा सरकार अघि बढिरहेको उनले बताए।






































