काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति देखिएको छ। राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठ्दै नेताहरूले दिवंगत श्रेष्ठप्रति सम्मान प्रकट गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न दलका नेताहरू सानेपा पुगेर श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिएका छन्। कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको पनि कार्यालयमा बाक्लो उपस्थिति रहेको छ।

मंगलबार ७९ वर्षको उमेरमा निधन भएका श्रेष्ठ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री थिए। उनको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक कार्यक्रमस्वरूप पार्टीका सबै गतिविधि सीमित गर्ने निर्णय गरेको छ।

श्रेष्ठको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलन र संसदीय राजनीतिमा योगदान पुर्‍याएका एक अनुभवी नेताको युग समाप्त भएको भन्दै विभिन्न दलका नेताहरूले उनको राजनीतिक योगदानको स्मरण गरेका छन्।