काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। चक्कर लाग्ने र लगातार वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार साँझ काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।
उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि डा। भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो अर्थात् सन्तुलन प्रणालीसँग सम्बन्धित चक्कर आउने समस्याको लक्षण देखिएको बताएका छन्। अन्य स्वास्थ्य परीक्षणको रिपोर्ट भने सामान्य रहेको जनाइएको छ।
अस्पताल स्रोतका अनुसार आवश्यक चिकित्सकीय निगरानीमा राखिएका डा। भट्टराईको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख छ। चिकित्सकहरूले थप उपचार र नियमित निगरानी जारी राखेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएसँगै शुभेच्छुक तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।






































