काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनपछि पहिलो पटक केन्द्रीय समिति बैठकमा जुटेको छ। पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र महाधिवेशनपछिको कार्ययोजनालाई केन्द्रमा राखेर बैठक सुरु भएको हो।

पार्टी कार्यालयमा बसेको बैठकमा महाधिवेशनको समग्र समीक्षा, संगठनात्मक संरचनाको व्यवस्थापन, आवश्यक मनोनयन, कार्यविधि परिमार्जन तथा आगामी राष्ट्रिय अभियानका विषयमा विस्तृत छलफल भइरहेको छ। बैठकमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको छ।

यस बैठकलाई रास्वपाको आगामी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेतृत्वले महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई कार्यान्वयनमा लैजाने, संगठनलाई थप प्रभावकारी बनाउने र समसामयिक राजनीतिक घटनाक्रममा पार्टीको धारणा स्पष्ट पार्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठकबाट संगठन विस्तार, अभियान सञ्चालन र पार्टीको भावी रोडम्यापसँग सम्बन्धित महत्वपूर्ण निर्णय सार्वजनिक हुने विश्वास गरिएको छ।