काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र समावेशी बनाउने महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन्। संसदीय सुनुवाइ समितिमा प्रस्तुत योजनामा उनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने, ई–भोटिङको सम्भाव्यता अघि बढाउने र निर्वाचन प्रक्रियालाई आधुनिक बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्कीले वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन दूतावासमार्फत मतदान, हुलाक प्रणाली, ब्लकचेनमा आधारित सुरक्षित अनलाइन मतदान तथा प्रतिनिधिमूलक मतदानजस्ता विकल्प अघि सारेका छन्। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै कानुनी र कूटनीतिक समन्वयमार्फत विदेशस्थित नेपालीलाई मताधिकार दिलाउने उनको योजना छ।

निर्वाचनलाई छिटो, पारदर्शी र विश्वसनीय बनाउन विद्युतीय मतदान मेसिन, अनलाइन मतदाता नामावली, बायोमेट्रिक पहिचान, जीआईएसरजीपीएस प्रविधि र ई–भोटिङको पाइलट परियोजना सञ्चालन गर्ने प्रस्ताव पनि कार्ययोजनामा समेटिएको छ। साथै राजनीतिक दलको आर्थिक पारदर्शिता बढाउन अनिवार्य लेखापरीक्षण, सार्वजनिक कोषबाट अनुदान, ‘नो भोट’को कानुनी व्यवस्था, निर्वाचन शिक्षा विस्तार तथा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गर्ने योजनासमेत उनले अघि सारेका छन्।

कार्कीले यी सुधार कार्यान्वयन भए नेपालको निर्वाचन प्रणाली थप विश्वसनीय, समावेशी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बन्ने विश्वास व्यक्त गरेका छन्।