काठमाडौं । सुनसरी घटनापछि राजनीतिक आरोप–प्रत्यारोप चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले दोषारोपणभन्दा सामाजिक सद्भाव जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्री आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै अहिले उत्तेजक अभिव्यक्ति दिने समय नभएको स्पष्ट पारे।

लामिछानेले सुनसरीमा नागरिकको ज्यान गएको घटनालाई सबै राजनीतिक दलले गम्भीर रूपमा लिएको बताउँदै अहिले कसले के बोल्यो भन्नेभन्दा समाजमा शान्ति, संयम र आपसी विश्वास कायम राख्नु आवश्यक रहेको धारणा राखे। उनले विगतका आन्दोलन र अहिलेको संवेदनशील अवस्था फरक भएकाले सबै पक्षले जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार सर्वदलीय बैठकले पनि सामाजिक सद्भाव कायम राख्ने, हिंसा नबढाउने र नागरिकलाई संयम अपनाउन आग्रह गर्दै सबै राजनीतिक दलको तर्फबाट संयुक्त अपिल जारी गर्ने सहमति गरेको छ। सुनसरी घटनाले थप तनाव ननिम्तियोस् भन्ने उद्देश्यले राजनीतिक दलहरू साझा धारणा बनाउन एकजुट भएको उनले बताए।