विराटनगर । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन गठित सरकारी छानबिन समिति बुधबार घटनास्थल पुगेको छ। घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै समितिले प्रत्यक्ष निरीक्षणसँगै स्थानीयवासीसँग बयान र जानकारी संकलन सुरु गरेको हो।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय समितिले घटनास्थलको अवस्था, सुरक्षाकर्मीको परिचालन र झडपको क्रमबारे विस्तृत अध्ययन गरिरहेको छ। टोलीले स्थानीय बासिन्दासँग सोधपुछ गर्नुका साथै घटनास्थलको सूक्ष्म निरीक्षण गरेको छ।
यसअघि विराटनगरमा रहेका घाइतेहरूलाई भेटेर बयान लिएको समितिले अब प्रत्यक्ष प्रमाण र स्थानीयको भनाइका आधारमा घटनाको वास्तविक कारण र जिम्मेवारी पहिचान गर्ने तयारी गरेको जनाएको छ। प्रहरीको गोली लागेर एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनापछि सरकारले निष्पक्ष छानबिनको प्रतिबद्धतासहित समिति गठन गरेको थियो।






































