विराटनगर । सुनसरीमा चर्किएको तनाव र सामाजिक सद्भावमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले राजनीतिक र सुरक्षा संयन्त्रलाई एउटै टेबलमा ल्याउने पहल गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको शान्ति–सुरक्षा अवस्थाबारे साझा धारणा बनाउन तथा पछिल्लो घटनाक्रमको समीक्षा गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
दिउँसो १२ः ३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्ने बैठकमा सुरक्षा निकायका उच्च अधिकारी, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा सुनसरी घटनापछि विकसित सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय, अफवाह नियन्त्रण, तथा प्रदेश सरकारको समन्वयकारी भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रदेश सरकारमाथि पनि प्रभावकारी हस्तक्षेपको दबाब बढिरहेका बेला मुख्यमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएका हुन्। प्रदेश सरकारले राजनीतिक सहकार्य, सुरक्षा निकायबीच समन्वय र नागरिकमा विश्वास कायम गर्ने रणनीतिसहित अगाडि बढ्ने तयारी गरेको बताइएको छ






































