धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को शीर्ष नेतृत्वबीचको विवाद सतहमा आउँदा कार्यकर्ता र तल्लो तहका नेताहरू निराश बनेका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको मतभेदले संगठनलाई नै असर पार्न थालेको नेताहरूको भनाइ छ।
२०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो बनेको नाउपा भित्र अध्यक्ष श्रेष्ठलाई पदबाट हटाउने प्रयासपछि विवाद चुलिएको हो। संरक्षक चौधरीको नेतृत्वमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि श्रेष्ठ अझै अध्यक्षकै भूमिकामा छन्।
यस विवादका कारण सुदूरपश्चिम प्रदेशमा पार्टीले मुख्यमन्त्री गुमाउनुका साथै मन्त्रीहरू बर्खास्त हुनुपरेको गुनासो कार्यकर्ताहरूले गरेका छन्।
पार्टीभित्रको विवादप्रति निराश हुँदै कैलारी गाउँपालिकाका नेताहरूले नेतृत्व सुध्रनु पर्ने बताएका छन्। “उहाँहरू सुध्रिएर आउनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ,” भनी कैलारीबाट उम्मेदवार बनेका भीष्मराज चौधरीले बताए।
भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले विवादलाई “श्रीमान्–श्रीमतीको झगडा” भनेका छन्। “उहाँहरू मिलेपछि सबै कुरा मिल्छ,” उनको भनाइ छ।
प्रदेश सांसद कैलाश चौधरीका अनुसार शीर्ष तहमा समस्या देखिए पनि ग्रामीणस्तरमा कार्यकर्ता अझै पार्टी र मुद्दाप्रति अडिग छन्। “नेतृत्व दुई धारमा देखिए पनि तल्लो तहमा एकता कायम छ,” उनले स्पष्ट पारे।
पार्टीभित्रको आन्तरिक तनावका कारण केही कार्यकर्ता निराश हुँदै बाहिरिने क्रम पनि सुरु भएको छ। यद्यपि, बहुसंख्यक कार्यकर्ताहरू ‘रेशमवाद’ प्रति प्रतिबद्ध रहेको बताइन्छ।