काठमाडौं— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका फरार अभियुक्त कलबहादुर बस्नेतलाई युएईबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।
कीर्तिपुर नगरपालिका–४, गाम्चामा बसोबास गर्दै आएका रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का स्थायी बासिन्दा बस्नेतलाई अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा एनसीबी अबुधाबी, युएईको समन्वयमा पक्राउ गरिएको हो।
उनलाई सोमबार नेपाल ल्याइएको र सम्बन्धित मुद्दामा कारबाही अगाडि बढाउन मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको नेपाल प्रहरीको भनाइ छ।
उनीविरुद्ध इन्टरपोल महासचिवालयमार्फत २०८१ पुस ११ गते रेड नोटिस जारी गरिएको थियो। रेड नोटिस नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसीबी काठमाडौं) को अनुरोधमा जारी गरिएको हो।
प्रहरीका अनुसार बस्नेत मानव बेचबिखनसम्बन्धी मुद्दामा संलग्न रही फरार रहेका थिए।