काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।
बैठकको सुरुमा रास्वपाका सांसद शिव नेपाली र राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले आफ्ना धारणा राखेपछि दुवै दलका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
सांसद नेपालीले लिपुलेक क्षेत्रमा नेपालको भूमि रक्षा गर्न सरकार प्रतिवद्ध हुने विश्वास व्यक्त गरे पनि, सत्तारूढ दलहरू उपसभामुख हटाउन उद्यत भएर लोकतान्त्रिक अभ्यासको अपमान गरिरहेको आरोप लगाए।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफ्नो निरन्तर विरोध जारी रहेको जनाउँदै, उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै आएका छन्। दुवै दलले जेठ १३ गतेदेखि नै संसदमा उक्त मुद्दामा आक्रोश व्यक्त गर्दै संसदीय प्रक्रियामा अवरोध गरिरहेका छन्।