कविता :

 "देवानगञ्जमा गोली चल्यो"


देवानगञ्जमा गोली चल्यो

तर एउटा शरीर ढल्यो ,

घाइते भए विश्वास,

रगताम्य भए मनहरू,

आँसुले

भिज्यो अनुहारहरु।


पर्खालमा लेखिएका नाराहरूले 

सोधिरहेका थिए—

"किन भाइले भाइलाई चिन्न छाड्यो?"

किन एउटा अफवाहले

दशकौँको छिमेकलाई

एकै साँझ अपरिचित बनाइ दियो?


हिजोसम्म एउटै इनारको पानी पिउनेहरू,

एउटै खेतको 

डिलमा हाँस्नेहरू,

दिवालीको मिठाई र इदको सेवई साट्नेहरू,

आज किन

एकअर्काको नाममै 

डर खोज्न थाले?


गोलीको आवाजभन्दा ठूलो थियो

एउटी आमाको चिच्याहट,

एउटा बालकको प्रश्न—

"बुबा, अब 

हाम्रो घर पनि जल्छ?"


उत्तर थिएन।

थियो केवल धुवाँ,

र खरानीमाथि उभिएको लोकतन्त्र।


हे देवानगञ्ज!

तिम्रो पीडा 

कुनै धर्मको होइन,

यो हाम्रो साझा असफलताको ऐना हो।

हिन्दूको आँसुको 

रङ्ग पनि रातै हो,

मुस्लिमको रगतको 

रङ्ग पनि रातै हो।

मानिसको मृत्युमा

धर्मले शोकको 

सीमा कोर्दैन।


जसले अफवाहको 

आगो बाल्यो,

उसले देशको मुटु जलायो।

जसले राजनीति गर्न

समुदायलाई विभाजनको बारुद बनायो,

उसले नेपालको भविष्यमा

घाउ कोर्यो।


हामीले समयमै चिनौँ—

ती अनुहारहरू,

जो सद्भावको 

भाषण गर्छन्,

तर भित्रभित्रै

घृणाको 

व्यापार चलाउँछन्।

ती बिखण्डनकारी हातहरू,

जसलाई जनताको 

पीडा होइन,

अराजकताबाट जन्मिने सत्ता चाहिएको छ।


देश जलाएर

कसैको विजय हुँदैन।

जाति फुटाएर

राष्ट्र बलियो बन्दैन।

धर्म भिडाएर

मानवताले कहिल्यै 

उत्सव मनाउँदैन।


हामीलाई चाहिएको छ—

ढुङ्गा होइन, संवाद।

गोली होइन, विश्वास।

प्रतिशोध होइन, न्याय।

अफवाह होइन, सत्य।


आऊ,

घाइते मनहरूको 

उपचार गरौँ।

जलेका पसलभन्दापहिले

जलेका सम्बन्धहरू 

पुनः बनाऔँ।

पर्खालका नारालाई

हृदयको प्रतिज्ञा बनाऔँ।


लेखौँ—

"हामी पहिले नेपाली हौँ,

पछि सबै परिचय।"


लेखौँ—

"घृणाको राजनीति मुर्दाबाद!"

"मानवताको विजय जिन्दाबाद!"

"भाइचारा अमर रहोस्!"

"साम्प्रदायिक हिंसा 

अन्त्य गर!"

"सत्य, न्याय र सद्भाव जिन्दाबाद!"


ओमप्रकाशको मौन सम्झना होस्,

वा नाम नखुलेका प्रत्येक पीडितको करुण कथा—

उनीहरूको रगतले

हामीलाई एउटा पाठ लेखिदिएको छ—

नेपाललाई 

बचाउने हो भने

हामीले घाउमा नुन होइन,

मायाको मलम लगाउनैपर्छ।


देवानगञ्ज,

तिमी  एउटा 

भूगोल मात्र होइनौ,

तिमी चेतावनी हौ—

ढिलो भयो भने

घृणाले घर चिन्दैन,

धर्म सोध्दैन,

राष्ट्रको मुटुमै गोली हान्छ।


त्यसैले उठ, नेपाल!

सत्यको मशाल बोकेर उठ।

मानवतावादको झण्डा फहराएर उठ।

लोकतन्त्रलाई भीडको क्रोध होइन,

जनताको विवेकले बचाउँछ।


आजको प्रतिज्ञा यही हो—

अब कुनै देवानगञ्ज 

रुनु पर्दैन।

अब कुनै आमा

छोराको धर्म लुकाएर बाँच्नु पर्दैन।

अब कुनै पर्खाल

घृणाको घोषणापत्र 

बन्नु पर्दैन।


हामी इँटा थप्नेछौँ—

तर घृणाको होइन,

मानवताको हुने छ।

हामी नारा लगाउनेछौँ—

"नेपाली एकता जिन्दाबाद!"

"मानवता सर्वोपरि!"

"भाइचारा हाम्रो शक्ति!"


किनकि इतिहासले अन्ततः

गोलीको आवाज होइन,

घाउमाथि हात राख्ने मानिसहरूको साहस नै सम्झिरहन्छ।

भद्रपुर, झापा