काठमाडौं— विवेकशील साझा पार्टीले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ। 

समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न पार्टी उपाध्यक्ष परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको विवेकशील साझाले जनाएको हो।

पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन्।

पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेकाले समान विचार भएका दल, समूह र  अभियानकर्मीहरूको बृहत् ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरण सम्मको आवश्यकतालाई केन्द्रमा राखेर ʻमिसन ८४ʼलाई सफल बनाउन राजनीतिक संवाद समिति गठन गरेको कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जानकारी दिए।  

समितिले राजनीतिक छलफल, भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सक्रिय अभ्यासमा ल्याउन पहलकदमी गर्दै ʻअल्टरनेटिभ्स अलाईन्सʼमा काम गर्ने उनले बताए।