काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।

बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।

उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने गरी तयारी भइरहेको बताइएको छ ।