वीरगंज । नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगंजमा जमघट हुने भएका छन् ।
विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगंजमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू वीरगंज आउँदैछन् ।
प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना हुने कार्यक्रम भदौ ७ गते वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
आयोजक पीजीआईका अध्यक्ष कञ्चन झाका अनुसार कार्यक्रममा प्रदीप गिरिको जीवन, विचार र वहाँले जिउनुभएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विमर्श हुनेछ ।
त्यसैगरी प्रदीप गिरिका घनिष्ठ मित्रहरू, राजनीतिक नेताहरू र दुबै देशका प्रशंसकहरूलाई वहाँको विरासत सम्झन, वहाँले चासो राख्ने मुद्दाहरूमाथि चिन्तन गर्न र वहाँका भावनाहरू अघि बढाउनका निमित्त एकजुट बनाउन यो कार्यक्रम एउटा अवसर पनि बन्ने अध्यक्ष झाको भनाई छ ।
उद्घाटन सत्रमा प्रदीप गिरिका परिवारका सदस्यहरू तथा उनीसँग नजिक रहेका पर्साका नेताहरू रमेश रिजाल, अनिल रूङ्गटा सम्बोधन गर्नेछन् । त्यसपछि तीनवटा सत्रमा प्रदीप गिरिका बहुआयामिक पक्षमा चर्चा हुनेछ ।
‘किन नागरिक समाज र सञ्चारमाध्यमलाई गिरिको खाँचो महसुस हुन्छ ? आज विवेकको बोली कसले बोल्ने ?’ शीर्षकमा हुने पहिलो सत्रमा पत्रकार चन्द्रकिशोर, राजनीतिक विश्लेषक सुचेता प्याकुरेल, समाज अध्येता भाष्कर गौतम र राजनीतिशास्त्री हरि शर्मा सहभागी हुनेछन् ।
इमानदारिपूर्वक बोल्दाको अर्थ के हुन्छ ? र, विचारहरू हराउँदा पनि ध्यानै दिन नसक्ने विचलित अवस्थाबारे यो सत्रमा चर्चा हुनेछ ।
‘प्रदीप गिरिः मनैदेखि समाजवादी वा परिचयभन्दा माथिको एक दूरदर्शी, जसले लोकतन्त्र बाँच्यो?’ शीर्षकमा हुने दोस्रो सत्रमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, कांग्रेस आइका महासचिव मोहनप्रकाश, प्रदीप गिरिका आफन्तसमेत रहेका भारतीय राजनीतिज्ञ एवम् कानुनविद् वाइबी गिरि सहभागी हुनेछ ।
नेपाल र भारत आर्थिक रूपान्तरणको संघारमा रहँदा प्रदीप गिरिका विचारहरूले के शिक्षा प्रदान गर्छन ? प्रदीप गिरिले कल्पना गर्नुभएको न्यायपूर्ण, विवेकी र सबैका लागि अवसरले भरिएको समाज कस्तो हो ?
राजनीतिक अर्थशास्त्र सम्बन्धमा प्रदीप गिरिको दृष्टिकोण के हो? द्यमशीलता, सिर्जनात्मकता, आधुनिकीकरण र व्यक्तिगत स्वतन्त्रतालाई वहाँले कसरी अंगाल्नुभएको थियो आर्थिक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच प्रदीप गिरिले कसरी सन्तुलन कायम गर्नुभयो भन्नेबारे यो सत्रले गहन छलफलको अवसर प्रदान गर्नेछ ।
‘नेपाल, भारत र सीमाञ्चलः युवा, संस्कृति र पहिचानको राजनीति’ शीर्षकमा हुने तेस्रो सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, साउथ एसियन युनिभर्सिटी दिल्लीकी सह–प्राध्यापक डा.मल्लिका शाक्य, भारतीय जनता पार्टीका नेता एवम् संघीय सांसद डा.संजय जैसवाल, आरजेडीका नेता एवम् संघीय सांसद सुधाकर सिंह र सीमाञ्चल अध्येताका रूपमा कञ्चन झा सहभागी हुनेछन् ।
सीमा रेखालाई बाधा नभई सेतुको रूपमा देख्नुहुने प्रदीप गिरिको सीमाञ्चलसम्बन्धी धारणा तथा नेपाल र भारतको साझा भविष्य एवम् सांस्कृतिक नाताको विषयमा यो सत्रमा चर्चा हुनेछ ।
त्यस्तै सीमावर्ती ऐक्यबद्धता, आर्थिक सहकार्य र राजनीतिक समझदारीको पक्षमा आवाज मुखरित गर्नुभएका प्रदीप गिरिका विचारहरू सीमावर्ती क्षेत्रमा हुर्कँदै गरेका नयाँ पुस्तालाई कसरी सान्दर्भिक हुन सक्छन् भन्नेबारे पनि यो सत्रबाट एउटा निचोडमा पुग्न सकिने आयोजकको विश्वास छ ।
कार्यक्रम आयोजनका लागि वीरगंज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस, नेपाल न्युज बैंक लगायतका संघसंस्थाहरू साझेदार छन् ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले प्रदीप गिरिको विचार र दर्शनबाट आफू निकै प्रभावित रहेको बताएका छन् ।
नेपाल र भारतका प्रभावशाली राजनीतिकर्मी र बौद्धिक समुदायको उपस्थितिसहित गिरिको स्मृतिमा वीरगंजमा कार्यक्रम हुनु गौरवको विषय भएको गौतमको भनाई थियो ।
गिरिको राजनीतिक र सामाजिक विचार/दर्शनहरू मननयोग्य रहेकाले ती विचार/दर्शनलाई एकेडेमीमै समाविष्ट गरिनु उपयुक्त हुने धारणा पनि गौतमले राखे ।