भारतको पश्चिम बंगालस्थित पूर्व बर्धमान जिल्लामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
शुक्रबार बिहान बिहारका तीर्थयात्रीहरू बोकेको एक निजी बस पूर्व बर्धमानबाट दुर्गापुरतर्फ जाँदै थियो। बाटोमा सडक किनारमा रोकिएको ट्रकको पछाडि बस ठोक्किँदा दुर्घटना भएको बीबीसी हिन्दीले समाचार एजेन्सी पीटीआईको हवाला दिँदै जनाएको छ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र घाइते ३५ जनालाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। मृतक र घाइते सबै जना बिहारका बासिन्दा भएको पुष्टि भएको छ।