काठमाडौं – क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौंको कालोपुलस्थित डेरा कोठाबाट उनीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा बाराका २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह र भारत विहारका ३३ वर्षीय विक्रम जयसवाल तथा ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन्।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा चार जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउको क्रममा प्रहरीले उनीहरूको साथबाट १५ लाख ३३ हजार रुपैयाँ नगद र पाँच थान मोबाइल पनि बरामद गरेको छ।

प्राथमिक अनुसन्धानमा उनीहरूले करिब ६ करोड ६ लाख ६३ हजार रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको पाइएको प्रहरीको दाबी छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।