काठमाडौं — मधेसी नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यादवलाई पार्टीमा स्वागत गरेका हुन्।

यादव २०६४ सालमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। सो पार्टीमा उनी महासचिवसमेत बनेका थिए। पछि पार्टी एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा पनि उनी महासचिवकै भूमिकामा थिए।

तर २०७४ सालको निर्वाचनमा राजपाले यादवलाई उम्मेदवार नबनाएपछि उनले स्वतन्त्र रूपमा चुनाव लडे तर पराजित भए। त्यसपछिको समयमा उनी मधेस राजनीतिमा सक्रिय देखिएका थिएनन्।


निष्क्रियताकै क्रममा एक समय उनले एमालेमा प्रवेश गरेका थिए। यद्यपि हाल आएर उनी कांग्रेसमा पुनः सक्रिय भएका छन्।