काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरण छानबनिका लागि राख्दै आएको माग सरकारले पूरा नगरेको भन्दै दुबै दलले बैठक बहिष्कार गरेका हुन् । 


बिहीबारको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आ–आफ्नो आसनबाट उभिएर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा। चन्दा कार्कीलाई समय उपलब्ध गराएका थिए । 


उनीपछि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई समय पाएका थिए । संसद् सम्बोधनका क्रममा दुबै सांसदहरूले आन्दोलन जारी रहेको भन्दै बैठक बहिष्कारको घोषणा गरेका छन् ।  


रास्वपा र राप्रपाले बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका थिए । उनीहरू गत जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभा बैठकमा आन्दोलन गर्दै आएका छन् ।