काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरण प्रक्रिया छिटो टुंग्याउन मातहतका सबै समिति तथा इकाइहरूलाई निर्देशन दिएको छ।
साउन मसान्तसम्म सदस्यता विवरणको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी सम्बन्धित प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा जानकारी दिनुपर्ने पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पार्टी महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिहरूलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गर्दै भनेका छन्, “जिल्ला समितिले सदस्यता नवीकरणको कार्य समयमै नगरेमा प्रदेश अधिवेशनमा सहभागिता जनाउन समस्या पर्न सक्छ, जसको जिम्मेवारी सम्बन्धित सदस्य र जिल्ला समितिको हुनेछ।”
यसैबीच, पार्टीको केन्द्रीय कार्यकारिणी समितिले आगामी भदौ २५, २६ र २७ गतेभित्र सबै प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। सो अधिवेशनका लागि आवश्यक तयारीस्वरूप “प्रदेश अधिवेशन सम्बन्धी निर्देशिका २०८२” समेत जारी गरिएको प्रचार प्रमुख बस्नेतले जानकारी दिए।
पार्टीले सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया सशक्त रूपमा अघि बढाउन सम्पूर्ण संगठनलाई सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।