दोलखा – वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल गएका दोलखा जिल्ला तामाकोसी गाउँपालिका–६, च्यामाका ३३ वर्षीय अर्जुनप्रसाद आँपागाईंको मृत्यु भएको छ । करिब ३९ महिनाअगाडि श्रम स्वीकृति गरेर क्रोसिया गएका आँपागार्इं केही महिनापछि पोर्चुगल छिरेका थिए ।
पोर्चुगलगल पुगेपछि बेजा जिल्लाको एजेन्सी कम्पनीमा लेबर काम गर्दै आएका थिए । आइतबार बिहान घाँटीमा सलको पासो लगाएर आफ्नै कोठामा झुन्डिएको अवस्थामा उनलाई नेपाली साथीहरूले भेटेपछि मृतक आँपागाईंका भाइ शिवजी आँपागाईंलाई खबर गरेका थिए ।
आँपागाईंका वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । मृतकको सब ४ दिनदेखि पोर्चुगलको बेजा अस्पतालको शवगृहमा राखिएको छ । आर्थिक अभावका कारण शवलाई नेपाल ल्याउन सकिएको छैन । आँपागार्इंको मृत्युले शोकमा परेका परिवारले शव नेपाल ल्याइदिन आग्रह गरे पनि आर्थिक संकलन हुन नसकेको मृतकका काका धिरज आँपागार्इंले बताए ।
३३ वर्षको लक्का जवान छोराको मृत्युको खबरले परिवार र पूरा गाउँ नै शोकमा डुबेको छ । आर्थिक अवस्था एकदमै कमजोर छ, कमाउन भनी गएका भतिजको मृत्यु भयो । गएदेखि नै कमाइ राम्रो छैन भन्ने खबर आएको थियो । गएको ऋण पनि तिरिसकेको छैन, मृतकका काका धिरजले बताए ।
मृतक आँपागाईंको शव नेपाल ल्याउन सक्ने रकम जुटाउन नसके पनि पोर्चुगलमा नै शव व्यवस्थापन गर्न पनि नेपाली रकम ९÷१० लाख लाग्ने भएकाले रकम जट्न नसक्दा शव अलपत्र भएको हो ।