काठमाडौं – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ कालाखोला क्षेत्रमा भारी वर्षापछि ठूलो पहिरो खसेपछि सडक पुनः बन्द भएको हो।
करिब पाँच दिनअघि पहिरोका कारण अवरुद्ध भएको यो सडक मंगलबार दिउँसो मात्रै सञ्चालनमा आएको थियो। तर, रातभरको वर्षापछि आज बिहान ९ बजे पुनः पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
सडक बन्द भएपछि दक्षिण बागलुङसँगको सिधा यातायात सम्पर्क टुटेको छ। बागलुङबाट बुटवल, पाल्पा, भैरहवा लगायतका गन्तव्यमा जाने सवारी साधनहरू ठप्प हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
प्रहरी निरीक्षक थापाका अनुसार अहिले पनि निरन्तर वर्षा भइरहेको हुँदा पहिरो हटाउने काम अघि बढ्न सकेको छैन। "कालाखोलामा ठूलो पहिरो खसेको छ, हिजो मात्र पहिरो हटाएर सडक खोलिएको थियो, आज पुनः झन् ठूलो पहिरो खस्दा यातायात ठप्प भएको छ," उनले भने, "ठूला चट्टानसहितको पहिरो भएकाले सडक खोल्न कठिन भइरहेको छ। कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर मार्ग खुलाउने प्रयास भइरहेको छ।"