काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आज पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।


आजको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दीपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि दुबै दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए।


सांसद चौधरीले भिजिट भिसा काण्डमा निष्पक्ष छानबिन सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे। उनले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ढिलाइ गरिरहेको भन्दै आपत्ति जनाए।


उता, राप्रपाका सांसद सिंहले आफूहरूले भिजिट भिसाको विरोध नगरेको तर भिसाको नाममा भइरहेको अवैध असुली धन्दाको छानबिन आवश्यक भएको बताए। उनले पनि छानबिन समिति गठन नभएसम्म संसदीय आन्दोलन जारी रहने चेतावनी दिए।


रास्वपा र राप्रपा दुवैले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग गठनको माग गर्दै जेठ १३ गतेदेखि नै प्रतिनिधि सभामा निरन्तर विरोध जनाउँदै आएका छन्।